limit increased for internet banking

इन्टरनेट बैंकिङ कारोबारको सीमा बढ्यो

Business & Economics country

काठमाडौँ — राष्ट्र बैंकले मोबाइल र इन्टरनेट बैंकिङ कारोबारको सीमा करिब ५ गुणाले बढाएको छ । नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने सरकारको कार्यक्रमलाई सहयोग पुग्ने गरी राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो ।

राष्ट्र बैंकले परिपत्र जारी गरी उक्त व्यवस्था कार्यान्वयनका लागि सरोकारवालालाई निर्देशन दिएको छ ।

नयाँ व्यवस्थाअनुसार अब मोबाइल बैंकिङको माध्यमबाट दैनिक अधिकतम ५० हजारसम्मको भुक्तानी गर्न पाइनेछ । कारोबारको बिल वा विवरण प्राप्त हुने अवस्थामा बाहेक मासिक १ लाखसम्म कारोबार गर्न पाइने व्यवस्था राष्ट्र बैंकले गरेको हो ।

इन्टरनेट बैंकिङको माध्यमबाट दैनिक अधिकतम १० लाख रुपैयाँसम्मको कारोबार गर्न पाइने भएको छ । यस्तो कारोबारमा मासिक रूपमा अधिकतम ३० लाखभन्दा बढीको भुक्तानी गर्न पाइने छैन । यसअघि यस्तो भुक्तानी गर्दा दैनिक १ लाख र मासिक ५ लाख रुपैयाँसम्मको सीमा थियो ।

इन्टरनेट बैंकिङको माध्यमबाट बैंक तथा वित्तीय संस्थाहरूको खातामा ट्रान्सफर गर्दा दैनिक अधिकतम १० लाख रुपैयाँसम्मको कारोबार गर्न पाइनेछ । यस्तो कारोबार मासिक रूपमा अधिकतम ५० लाखभन्दा बढी हुन नहुने व्यवस्था निर्देशनमा छ ।

यसअघि यसरी ट्रान्सफर गर्दा एकपटकमा १ लाख र मासिक १० लाख रुफैयाँ थियो ।क्रेडिट कार्डबाट स्वीकृत त्रेडिट रकमको १० प्रतिशत मात्र नगद झिक्न पाइने भएको छ । गत असारमा राष्ट्र बैंकले पहिलोफटक क्रेडिट कार्डमा कारोबार सीमा तोक्दै स्वीकृत त्रेडिट रकमको २५ प्रतिशतसम्म नगद झिक्न पाउने व्यवस्था गरेको थियो ।

प्रिपेड कार्डको हकमा भने हालको व्यवस्था कायम छ । बैंक तथा वित्तीय संस्थाले जारी गरेका ‘नियर फिल्ड कम्युनिकेसन टेक्नोलोजी’ (एनएफसी) कार्ड मार्फत कारोबार गर्दा प्रतिपटक २ हजारसम्मको कारोबारका लागि ‘पिनकोड’ आवश्यक नहुने भएको छ ।

यस प्रकारको कारोबारका लागि कारोबार संख्या र जोखिम न्यूनीकरण गर्ने व्यवस्था बैंक तथा वित्तीय संस्था स्वयंले गर्नुपर्नेछ । यस्तै बैंक तथा वित्तीय संस्थामा रहेको खाताबाट वालेटमा, वालेटबाट बैंक खातामा, एक वालेटबाट अर्को वालेटमा रकम ट्रान्सफर गर्दा दैनिक २५ हजारको सीमा तोकिएको छ ।

यस्तो कारोबारमा मासिक ५० हजारभन्दा बढी ट्रान्सफर गर्न नपाइने राष्ट्र बैंकले जनाएको छ । यसअघि प्रतिकारोबार ५ हजार र दैनिक १५ हजार रुपैयाँसम्म स्थानान्तरण गर्न पाइने व्यवस्था थियो ।

source: kantipurdaily

Comment(टिपणी)