रेकर्ड बनाउँदै ‘कबड्डी कबड्डी कबड्डी’, तीन दिनको कलेक्सन कति ?

Entertainment

६ असोज, काठमाडौं । शुक्रबारबाट देशभर प्रदर्शनमा रहेको चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ ले प्रदर्शनको शुक्रबार, शनिबार र आइतबार आक्रामक व्यापार गरेको छ । चलचित्रले साताको पहिलो तीन दिन राजधानीका सबैजसो मल्टिप्लेक्सहरु ८० प्रतिशतभन्दा बढी अकुपेन्सी थियो ।
पहिलो दिन एक करोड ४७ लाखको ग्रस कलेक्सन गरेको चलचित्रले दोश्रो दिन १ करोड ७८ लाख र तेश्रो दिन १ करोड ७ लाखको ग्रस कलेक्सन गरेको चलचित्रका निर्माता मणिराम पोखरेलले जानकारी दिए । यसरी हेर्दा फिल्मले तीन दिनमा जम्मा ४ करोड ३२ लाखको ग्रस कलेक्सन गरेको छ । कुनै पनि नेपाली चलचित्रले पहिलो तीन दिन यति धेरै कलेक्सन गरेको यो नै पहिलो पटक हो । फिल्मको वर्ड अफ माउथको पब्लिसिटी र समिक्षकहरुले पनि राम्रो भनेका कारण अरु केही दिन फिल्मले ताबडतोड कमाउने संकेत देखिएको छ ।
शुक्रबार फिल्मको ओपनिङ बम्पर भएपछि शनिबार फिल्म युनिटले राजधानीका हल हलमा पुगेर दर्शकसँग साक्षात्कार गरिरहेको छ । अभिनेता दयाहाङ राई, नायिका उपासनासिंह ठकुरी, कलाकारहरु विल्सन विक्रम राई, बुद्धि तामाङ, बिजय बराल, निर्देशक रामबाबु गुरुङ गोपिकृष्ण हलमा पुगेका थिए । फिल्मले बम्पर ओपनिङ गर्दा फिल्म युनिट दंग देखिए ।

रामबाबु गुरुङको निर्देशनमा बनेको चलचित्र ‘कबड्डी’को तेश्रो सिरिज हो ।

source:nepaliheadlines

Comment(टिपणी)