Vitamin A Deficiency Result

भिटामिन ‘ए’ को कमी भए के हुन्छ?-भिटामिन ‘ए’ कसरी पाइन्छ?

Health

Vitamin A Deficiency Result
शारीरिक विकास र स्वास्थ्यका लागि आवश्यक पर्ने तत्व नै भिटामिन हो। शरीरलाई स्वास्थ राख्न र रोगबाट बचाउन भिटामिन अनिवार्य नै हुन्छ। भिटामिन मुख्यतयाः पानीमा घुल्ने र चिल्लो पदार्थमा घुल्ने प्रकृतिका हुन्छन्। भिटामिन ‘बी’ तथा ‘सी’ पानीमा घुल्ने र भिटामिन ‘ए’, ‘डी’, ‘ई’, र ‘के’ चिल्लो पदार्थमा घुल्ने हुन्छन्।

भिटामिन ‘ए’ भएका तत्वहरु समग्र रुपमा स्वास्थ रहन र दीर्घरोग विरुद्ध उत्कृष्ट मानिन्छन्। दैनिक आहारमा भिटामिन ‘ए’ को उपयोगले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ। त्यस्तै राति नदेख्ने रतन्धो रोगबाट जोगाउँछ। आँखा तेजिलो बनाउँछ। यति मात्र होइन, भिटामिन ‘ए’ ले छाला, श्वासप्रश्वास तथा प्रजनन् स्वास्थ्यसम्बन्धी रोग लाग्न दिँदैन।

भिटामिन ‘ए’ को क्लिनिकल प्रयोग
विशेषगरी बाल स्वास्थ्यसम्बन्धी रोग र समस्याहरुमा भिटामिन ‘ए’ को प्रयोग गरिन्छ। जस्तैः रतन्धो, दादुरा, दीर्घ झाडापखला, कडा कुपोषण, छालाको रोग आदि।

भिटामिन ‘ए’ को कमीबाट हुने असर
प्रायजसो भिटामिन ‘ए’ को कमीले बालबालिकाको वृद्धि विकास र गर्भवती महिलाको स्वास्थ्यलाई असर गर्छ। यसको कमीले रतन्धो रोग लाग्छ। त्यस्तै बालबालिकामा कुपोषण, रोग प्रतिरोधात्मक क्षमतामा कमी, दीर्घ रोगहरु देखा पर्छ।

भिटामिन ‘ए’ कमी हुँदा देखिने लक्षण

  • छाला सुख्खा हुनु र छालामा पटकपटक संक्रमण हुनु।
  • आँखा सुख्खा हुनु।
  • राति आँखा देख्न गाह्रो हुनु।
  • गर्भाधान नहुनु।
  • बालबालिकाको ढिलो विकास हुनु।
  • पटकपटक छाति तथा घाँटीको संक्रमण हुनु।
  • घाउ ढिलो निको हुनु।

भिटामिन ‘ए’ कसरी पाइन्छ?
भिटामिन ‘ए’ को महत्वपूर्ण स्रोतहरुमा गाँजर, पालुङ्गो, रायोलगायत हरियो सागसब्जी, पहेंला फलफूल, माछा, घ्यू, अन्डाको पहेंलो भाग, फर्सी, ब्रोकाउली, गोलभेंडा आदि पर्दछन्।

त्यसैगरी नेपाल सरकारले राष्ट्रिय रुपमा ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकाको लागि निःशुल्क भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ। वर्षको दुई पटक कात्तिक र वैशाखको पहिलो हप्ता भिटामिन ‘ए’ र जुकाको औषधि वितरण गरिन्छ।

यी औषधिहरु विगत २५ वर्षदेखि वितरण गरिंदै आएको छ। यस पटक पनि २०७६ वैशाख ६ र ७ गते देशैभर महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीबाट वितरण गरिंदै छ।

आफ्ना बच्चालाई नजिकैको भिटामिन ‘ए’ वितरण केन्द्र वा स्वास्थ्य संस्थामा लगेर भिटामिन ‘ए’ खुवाई यसको कमीवाट हुने असरबाट बचाऔं र बाल मृत्युदर घटाऔं।

source: swasthyakhabar.com

Comment(टिपणी)